Wednesday, March 16, 2016

सूर्यमुखी

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ - 'सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !'
तर म त्यसो गर्न सक्दिनँ । मेरी सूर्यमुखी अचेल सहरभरिका ठिटाहरूकी रमा मात्र शेष रहन गएकी छ । ऊ जुन सडकबाट हिँड्छे, सडक नै उचालिदिन्छे । होटलमा काम गर्ने ठिटाहरूदेखि लिएर रिक्सावाल, ट्याक्सी ड्राइभर र बाह्रमासेहरूसम्म सुसेली हाल्दै अनेकवली भनेर गिज्याउन लाग्छन् उसलाई । कति पल्ट यस्ता घटना आफ्नै आँखाले देखेको हुँ र ऊप्रति असाध्य घृणा उब्जेको थियो मेरो मनभरि । उसलाई चटक्कै बिर्सिदिने चेष्टा पनि गरेँ तर सकिनँ । रही-रही ऊ फक्रिरही-ओइलिरही-झरिरही ।
वास्तवमा ऊ त्यस्ती थिइन, न त्यस्ती होली भन्ने नै चिताएको थिएँ । मलाई राम्रो थाहा छ, उससँग मैले पहिलो नाटक 'राम वनवास' खलेको थिएँ र त्यसमा ऊ सीता भएकी थिई र म चाहिँ राम भएको थिएँ । नाटकमा ऊ नायिका हुन्थी, आवश्यक पर्दा नाच्थी र बेला-बखतमा गाउँथी पनि । यसरी उसले हाम्रो टोलीमा प्रसिद्धि कमाइसकेकी थिई ।
म अझै त्यही नाट्यशालामा काम गरिरहेको छु । अब नायकको अभिनय गर्न छोडेर म बूढो मान्छेको अभिनय गर्न लागेको छु । वैँश ढल्किसकेकाले पनि होला, अचेल कसैले मलाई नायक बनाउने प्रसंग पनि उठाउँदैन । कथकङ्कदाचित् त्यस्तो कुरा चलिहाले पनि केटीहरू हच्किन्छन् । सायद उनीहरूका लागि म अब नसुहाउने भइसकेको छु । अचेल नाट्यशालामा धेरै नयाँ-नयाँ कलाकारहरू थपिएका छन् र अघिभन्दा दोब्बर चहलपहल पनि बढेको छ । तर मलाई कता-कता ती जम्मै अनुहारहरूभन्दा पर सूर्यमुखीको अनुहारको सम्झना भइरहन्छ । यस्तो लाग्छ, हामी चाहिँ अझै नाट्यशालाभित्र कल्पित नाटक खेल्नैमा व्यस्त छौँ र ऊ चाहिँ त्यो परिधि नाघिसकेर यथार्थ नाटक खेलिरहेकी छ । एक पल्ट उसले भनेकी थिई - 'सुन्नुभो दाइ, हाम्री आमाको बिहे नहुँदै म जन्मेकी रे ! मेरो बाबु म नजन्मिँदै गाउँ छोडेर भागेको रे ! लोग्नेमान्छे कति निष्ठुर हुन्छन् हो कि ? कहिले त जम्मै लोग्नेमान्छेसँग प्रतिशोध लिऊँ जस्तो लाग्छ मलाई ।'
सोच्छु - कतै ऊ प्रतिशोध त लिइरहेकी छैन ? दिनहुँ कति लोग्नेमान्छे उसको पछि लागिरहेका हुन्छन् । कतिले आफ्नो दिनभरिको कमाइ नै फुकिदिन्छन् उसका लागि । सायद ऊ धेरैलाई बिगारेर आमाको इज्जत लुट्नेहरूसँग प्रतिशोध नै लिन लागिरहिछ ।
उसलाई नाट्यशालाबाट निकाल्नमा पनि मेरै प्रमुख हात थियो । रहँदा-बस्दा ऊभित्र गुम्सिरहेको ज्वाला नाट्यशालाभित्रै दन्किन लागेको थियो । बिस्तार-बिस्तार हाम्रो टोलीका धेरै केटाहरू त्यस ज्वालाको लप्कामा परिसकेका थिए र नाट्यशाला नै जल्ने सम्भावना देखिन लागेको कुरा मैले स्पष्ट बुझिसकेको थिएँ । एकदुई पल्ट चेताएको पनि हुँ, तर काम लागेन र अन्त्यमा नचाहँदा-नचाहँदै पनि उसलाई नाट्यशालाबाट बिदा दिनै परेको थियो ।
यी जम्मै कुरा हुँदाहुँदै पनि सूर्यमुखी मेरा आँखामा एउटा बेग्लै मूल्य लिएर उभिन्छे । ऊभित्र रहेको कलाकार मलाई सधैँ भनिरहेको हुन्छ - 'दाइ, जस्तै रोल दिनुहोस्, म खेल्न सक्छु ।'
साँच्चै, ऊ जस्तै रोल पनि खेल्न सक्दी रहिछ भन्ने कुरा नाट्यशाला छोडेपछि सडकभरि, सहरभरि खेलेर देखाइरहेकी छ । एकान्तमा बसेको बेला मभित्र जब ऊ फक्रिँदै जान्छे, अनि एउटा चिसो आशङ्काले मलाई अँचेट्छ - सूर्यमुखीको भविष्य के होला ?
हरिभक्त कटुवाल
स्पष्टीकरण (कथा-संग्रह)

No comments:

Post a Comment