Skip to main content

सूर्यमुखी

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ - 'सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !'
तर म त्यसो गर्न सक्दिनँ । मेरी सूर्यमुखी अचेल सहरभरिका ठिटाहरूकी रमा मात्र शेष रहन गएकी छ । ऊ जुन सडकबाट हिँड्छे, सडक नै उचालिदिन्छे । होटलमा काम गर्ने ठिटाहरूदेखि लिएर रिक्सावाल, ट्याक्सी ड्राइभर र बाह्रमासेहरूसम्म सुसेली हाल्दै अनेकवली भनेर गिज्याउन लाग्छन् उसलाई । कति पल्ट यस्ता घटना आफ्नै आँखाले देखेको हुँ र ऊप्रति असाध्य घृणा उब्जेको थियो मेरो मनभरि । उसलाई चटक्कै बिर्सिदिने चेष्टा पनि गरेँ तर सकिनँ । रही-रही ऊ फक्रिरही-ओइलिरही-झरिरही ।
वास्तवमा ऊ त्यस्ती थिइन, न त्यस्ती होली भन्ने नै चिताएको थिएँ । मलाई राम्रो थाहा छ, उससँग मैले पहिलो नाटक 'राम वनवास' खलेको थिएँ र त्यसमा ऊ सीता भएकी थिई र म चाहिँ राम भएको थिएँ । नाटकमा ऊ नायिका हुन्थी, आवश्यक पर्दा नाच्थी र बेला-बखतमा गाउँथी पनि । यसरी उसले हाम्रो टोलीमा प्रसिद्धि कमाइसकेकी थिई ।
म अझै त्यही नाट्यशालामा काम गरिरहेको छु । अब नायकको अभिनय गर्न छोडेर म बूढो मान्छेको अभिनय गर्न लागेको छु । वैँश ढल्किसकेकाले पनि होला, अचेल कसैले मलाई नायक बनाउने प्रसंग पनि उठाउँदैन । कथकङ्कदाचित् त्यस्तो कुरा चलिहाले पनि केटीहरू हच्किन्छन् । सायद उनीहरूका लागि म अब नसुहाउने भइसकेको छु । अचेल नाट्यशालामा धेरै नयाँ-नयाँ कलाकारहरू थपिएका छन् र अघिभन्दा दोब्बर चहलपहल पनि बढेको छ । तर मलाई कता-कता ती जम्मै अनुहारहरूभन्दा पर सूर्यमुखीको अनुहारको सम्झना भइरहन्छ । यस्तो लाग्छ, हामी चाहिँ अझै नाट्यशालाभित्र कल्पित नाटक खेल्नैमा व्यस्त छौँ र ऊ चाहिँ त्यो परिधि नाघिसकेर यथार्थ नाटक खेलिरहेकी छ । एक पल्ट उसले भनेकी थिई - 'सुन्नुभो दाइ, हाम्री आमाको बिहे नहुँदै म जन्मेकी रे ! मेरो बाबु म नजन्मिँदै गाउँ छोडेर भागेको रे ! लोग्नेमान्छे कति निष्ठुर हुन्छन् हो कि ? कहिले त जम्मै लोग्नेमान्छेसँग प्रतिशोध लिऊँ जस्तो लाग्छ मलाई ।'
सोच्छु - कतै ऊ प्रतिशोध त लिइरहेकी छैन ? दिनहुँ कति लोग्नेमान्छे उसको पछि लागिरहेका हुन्छन् । कतिले आफ्नो दिनभरिको कमाइ नै फुकिदिन्छन् उसका लागि । सायद ऊ धेरैलाई बिगारेर आमाको इज्जत लुट्नेहरूसँग प्रतिशोध नै लिन लागिरहिछ ।
उसलाई नाट्यशालाबाट निकाल्नमा पनि मेरै प्रमुख हात थियो । रहँदा-बस्दा ऊभित्र गुम्सिरहेको ज्वाला नाट्यशालाभित्रै दन्किन लागेको थियो । बिस्तार-बिस्तार हाम्रो टोलीका धेरै केटाहरू त्यस ज्वालाको लप्कामा परिसकेका थिए र नाट्यशाला नै जल्ने सम्भावना देखिन लागेको कुरा मैले स्पष्ट बुझिसकेको थिएँ । एकदुई पल्ट चेताएको पनि हुँ, तर काम लागेन र अन्त्यमा नचाहँदा-नचाहँदै पनि उसलाई नाट्यशालाबाट बिदा दिनै परेको थियो ।
यी जम्मै कुरा हुँदाहुँदै पनि सूर्यमुखी मेरा आँखामा एउटा बेग्लै मूल्य लिएर उभिन्छे । ऊभित्र रहेको कलाकार मलाई सधैँ भनिरहेको हुन्छ - 'दाइ, जस्तै रोल दिनुहोस्, म खेल्न सक्छु ।'
साँच्चै, ऊ जस्तै रोल पनि खेल्न सक्दी रहिछ भन्ने कुरा नाट्यशाला छोडेपछि सडकभरि, सहरभरि खेलेर देखाइरहेकी छ । एकान्तमा बसेको बेला मभित्र जब ऊ फक्रिँदै जान्छे, अनि एउटा चिसो आशङ्काले मलाई अँचेट्छ - सूर्यमुखीको भविष्य के होला ?
हरिभक्त कटुवाल
स्पष्टीकरण (कथा-संग्रह)

Comments

Popular posts from this blog

हरिभक्त कटुवाल

हरिभक्त कटुवाल   एक प्रसिद्ध साहित्यकार तथा गीतकार हुन्। हरिभक्त कटुवालको जन्म १९३५, जुलाई २ (विस १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो। प्रारम्भिक जीवन कटुवाल जन्मेको डेढ़ वर्षमा ब्रह्मपुत्रमा आएको बाढीले उनको घरै भत्काइदियो। त्यसपछि कटुवालको परिवार घरबिहीन बन्यो। घरबिहीन बनेर कटुवाल परिवार यताउति भौंतारिहिड्यो। त्यतिमात्र होइन, त्यो घरमा सँधैभरि आर्थिक हाहाकारको बादल मड़ारिरह्यो। विवश थिए बीरबहादुर कटुवाल। आफ्नो श्रीमती र छोरा हरिभक्त कटुवाललाई बिरालुले बच्चा सारेजस्तो कहिले यता, कहिले उता सारिहिँड़े बीरबहादुरले। तर, यो सायदै दैवको परीक्षा थियो, तिनीहरू जतासुकै गए पनि आर्थिक अभावको बादल तिनीहरूमाथिनै मड़ारिरह्यो। त्यतिखेरदेखिको त्यो अवस्था पछिसम्मै रहिरह्यो। आर्थिक अभावको खाड़ल झन् ठूलो, झन् ठूलो हुँदै गइरह्यो, घटेन, सानो भएन। यद्यपि, बीरबहादुर कटुवालले छोरालाई अक्षर चिन्हाउनुपर्छ भन्ने कुरा बिर्सेनन्। यस्तो स्थितिमा पनि तिनले छोरालाई स्थानीय स्कूलमै भए पनि पढ्न पठाए। कटुवालले स्थानीय स्कूलमै क, ख पढ़े। असमियाभाषामै स्...

पोखिएर घामको झुल्का

पोखिएर घामको झुल्का भरि आँगनैमा, तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है सयपत्री फूलसँगै फक्री आँगनैमा, बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है । कति कति आँखाहरु बाटो छेक्न आँउछन, परेलीमा बास माग्न कति आँखा धाँउछन यति धेरै मानिसका यति धेरै आँखाहरु, मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है। उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो, मनको शान्त तलाउको पानी कसले चलायो आँफैंलाई थाहा छैन कसलाई थाहा होला, यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है। शब्द - हरिभक्त कटुवाल स्वर - नारायण गोपाल संगीत - अम्बर गुरुङ एल्बम - प्रेयसीका यादहरु

कवि कटुवालको घाउ

मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ...' जस्ता कहिल्यै नओइलाउने गीत र 'यो जिन्दगी खै के जिन्दगी' जस्ता कालजयी कविता लेख्ने स्रष्टा हरिभक्त कटुवालले यो संसार छाडेको ३५ वर्ष भयो। तर उनले लेखेका गीत सुन्दा र कविता पढ्दा अझै पनि हामीलाई ख्याउटे शरीर, तिखा आँखा अनि तिल र चामल मिसाए जस्तो कपाल भएको टाउको बोकी बेपरवाह तरिकाले काठमाडौंका सडकपेटीमा लर्खराउँदै हिँड्ने एउटा मानिसको झझल्को नआई छाड्दैन। नेपालमा पञ्चायती व्यवस्था चलिरहेको थियो र त्यसप्रति असन्तोष बढ्दै थियो। त्यही क्रममा २०३६ सालमा ठूलै