Skip to main content

Posts

Showing posts from 2016

साँची राँखु जस्तो लाग्छ -Video

कवि कटुवालको घाउ

मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ...' जस्ता कहिल्यै नओइलाउने गीत र 'यो जिन्दगी खै के जिन्दगी' जस्ता कालजयी कविता लेख्ने स्रष्टा हरिभक्त कटुवालले यो संसार छाडेको ३५ वर्ष भयो। तर उनले लेखेका गीत सुन्दा र कविता पढ्दा अझै पनि हामीलाई ख्याउटे शरीर, तिखा आँखा अनि तिल र चामल मिसाए जस्तो कपाल भएको टाउको बोकी बेपरवाह तरिकाले काठमाडौंका सडकपेटीमा लर्खराउँदै हिँड्ने एउटा मानिसको झझल्को नआई छाड्दैन। नेपालमा पञ्चायती व्यवस्था चलिरहेको थियो र त्यसप्रति असन्तोष बढ्दै थियो। त्यही क्रममा २०३६ सालमा ठूलै

यो जीवन

कतै, जुवाडेले कौडी खेलाउँदै हेरेको एउटा छुक जस्तो कतै, भर्खर वसन्तले छोडेर गएको उदास रूख जस्तो यस्तो लागिरहेछ आफैलाई यो जीवन अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेक बुक जस्तो ।

जीवन: एक दृष्टि

घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो

बा, पाठशाला जान्नँ म

बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहास पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा

हरिभक्त कटुवाल

हरिभक्त कटुवाल   एक प्रसिद्ध साहित्यकार तथा गीतकार हुन्। हरिभक्त कटुवालको जन्म १९३५, जुलाई २ (विस १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो। प्रारम्भिक जीवन कटुवाल जन्मेको डेढ़ वर्षमा ब्रह्मपुत्रमा आएको बाढीले उनको घरै भत्काइदियो। त्यसपछि कटुवालको परिवार घरबिहीन बन्यो। घरबिहीन बनेर कटुवाल परिवार यताउति भौंतारिहिड्यो। त्यतिमात्र होइन, त्यो घरमा सँधैभरि आर्थिक हाहाकारको बादल मड़ारिरह्यो। विवश थिए बीरबहादुर कटुवाल। आफ्नो श्रीमती र छोरा हरिभक्त कटुवाललाई बिरालुले बच्चा सारेजस्तो कहिले यता, कहिले उता सारिहिँड़े बीरबहादुरले। तर, यो सायदै दैवको परीक्षा थियो, तिनीहरू जतासुकै गए पनि आर्थिक अभावको बादल तिनीहरूमाथिनै मड़ारिरह्यो। त्यतिखेरदेखिको त्यो अवस्था पछिसम्मै रहिरह्यो। आर्थिक अभावको खाड़ल झन् ठूलो, झन् ठूलो हुँदै गइरह्यो, घटेन, सानो भएन। यद्यपि, बीरबहादुर कटुवालले छोरालाई अक्षर चिन्हाउनुपर्छ भन्ने कुरा बिर्सेनन्। यस्तो स्थितिमा पनि तिनले छोरालाई स्थानीय स्कूलमै भए पनि पढ्न पठाए। कटुवालले स्थानीय स्कूलमै क, ख पढ़े। असमियाभाषामै स्...

हाँगाहाँगा वनभरि चैत फुलेछ

हाँगाहाँगा वनभरि चैत फुलेछ थाहा नपाई मनभित्र बैंस फुलेछ कताकता कसैलाई भेटेभेटे झैं संग्लो पानी पिई तिर्खा मेटेमेटे झैं कोहो कोहो दुई आँखामा आई डुलेछ थाहा नपाई मनभित्र पृत फुलेछ एक जोडी आँखा सधैं हाँसु हाँसु झैं एउटा माला फूल टिपी गाँसु गाँसु झैं कसोकसो बिहानीको निद खुलेछ थाहा नपाई मनभित्र पृत फुलेछ शब्द - हरिभक्त कटुवाल स्वर - अरुणा लामा संगीत - कमलमणि क्षेत्री 'बदनाम मेरा यी आँखाहरु'बाट

सूर्यमुखी

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ - 'सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !' तर म त्यसो गर्न सक्दिनँ । मेरी सूर्यमुखी अचेल सहरभरिका ठिटाहरूकी रमा मात्र शेष रहन गएकी छ । ऊ जुन सडकबाट हिँड्छे, सडक नै उचालिदिन्छे । होटलमा काम गर्ने ठिटाहरूदेखि लिएर रिक्सावाल, ट्याक्सी ड्राइभर र बाह्रमासेहरूसम्म सुसेली हाल्दै अनेकवली भनेर गिज्याउन लाग्छन् उसलाई । कति पल्ट यस्ता घटना आफ्नै आँखाले देखेको हुँ र ऊप्रति असाध्य घृणा उब्जेको थियो मेरो मनभरि । उसलाई चटक्कै बिर्सिदिने चेष्टा पनि गरेँ तर सकिनँ । रही-रही ऊ फक्रिरही-ओइलिरही-झरिरही । वास्तवमा ऊ त्यस्ती थिइन, न त्यस्ती होली भन्ने नै चिताएको थिएँ । मलाई राम्रो थाहा छ, उससँग मैले पहिलो नाटक ...

मेरो यो गीतमा जून मुर्छना छ

मेरो यो गीतमा जून मुर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ? एउटै छ धरती आकास एउटै एउटै छ उछवास चाहना एउटै तरंग धेरै बिक्षिप्त मनमा आँखाले मात्र को गन्न सक्छ? तिमी हात म देऊ म पृत दिन्छु तिमी आँट देऊ म जीत दिन्छु रहर कुँदेका पाइलाहरूलाई बन्धनको सागर को खन्न सक्छ? शब्द - हरिभक्त कटुवाल स्वर - नारायण गोपाल संगीत - अम्बर गुरुङ

मलाई नसोध कहाँ दुख्छ घाउ

मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठिकै छु बिथोल्न नआऊ मेरो जिन्दगीमा सधैं यो उदासी सकेकै छु जिउन कहीले नहाँसी मेरो चाहन हो तिमी हाँसे पुग्छ मेरो घाऊ तिमी नहाँसे पो दुख्छ तेसैले म भन्छु तिमी , मुस्कुराऊ मलाई नसोध कहाँ दुख्छ घाँउ कतै बिरानीमा हराए भने म कतै बेहोसिमा कराए भने म मेरो प्राप्ती त्यही यती ठाने पुग्छ मेरो घाऊ तिमी नहाँसे पो दुख्छ आन्ध्यारोमै छोड दियो , नजलाऊ मलाई नसोध कहाँ दुख्छ घाँउ शब्द - हरिभक्त कटुवाल स्वर, संगीत - नारायण गोपाल

रहर

बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको। खिया लागेका कलका पूर्जाहरु जस्तै गणितका सूत्रहरु पनि साह्रै पुराना भैसके रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पाना हरुमा, मैले त बाच्नुपर्छ आउने दिनहरुमा इतिहासभन्दा बढी अरु केही भएर त्यसैले, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको। फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ बनिसकेको बाटामा हिड्नभन्दा बाटो बनाउँदै हिड्न रहर लाग्छ। इतिहासका ठेली होइन एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई योजना होइन पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई र गर्नु छ भुक्तान जम्मै धरतीले बोकाएका ऋणहरुको बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

पोखिएर घामको झुल्का

पोखिएर घामको झुल्का भरि आँगनैमा, तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है सयपत्री फूलसँगै फक्री आँगनैमा, बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है । कति कति आँखाहरु बाटो छेक्न आँउछन, परेलीमा बास माग्न कति आँखा धाँउछन यति धेरै मानिसका यति धेरै आँखाहरु, मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है। उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो, मनको शान्त तलाउको पानी कसले चलायो आँफैंलाई थाहा छैन कसलाई थाहा होला, यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है। शब्द - हरिभक्त कटुवाल स्वर - नारायण गोपाल संगीत - अम्बर गुरुङ एल्बम - प्रेयसीका यादहरु

रक्सीमाथि दुई टुक्रा

१) सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम । २) म आफ्नै बाटो हिँडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ विश्वास गर ! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्सीसित कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ । हरिभक्त कटुवाल

न सम्झुँ भन्छु तिमीलाई

न सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें ? नहेरूँ भन्छु तिमीलाई नहेरी बस्न के सक्थें ? कि तिम्रो सम्झना उस्तो कि मेरो छाती नै उस्तो कहालिन्छ जब छाती नधाई बस्न के सक्थें ? खिइने छैन यो सृष्टि दुई आँखाले हेर्दैमा फुलेको सृष्टिको फूल नसुँघी बस्न के सक्थें ? छ तिम्रो सम्झना मीठो कमलो छाती छ मेरो जसै चस्कन्छ यो छाती नरोई बस्न के सक्थें ? जति सम्झ्यो उति मीठो जता हेर्यो उतै सुन्दर यो सुन्दर सृष्टिको गीत नगाई बस्न के सक्थें ? हरिभक्त कटुवाल 'रचना' पूणाङ्क ८ असोज-कात्तिक २०२१

यो दुई थोपा आँसु

यो दुई थोपा आँसु मैले मेरै लागि साँचेको भोलि रुनलाई कसैकोमा आँसु होला कि नहोला दुख वेदनामा रोइदिन्छ आँसु खुसीको सिमामा झरिदिन्छ आँसु भोलि रमाउन कसैकोमा आँसु होला कि नहोला भन्न नसकेका बोलिदिन्छ आँसु पीर बाँधिएका खोलिदिन्छ आँसु भोलि पीर पोख्न कसैकोमा आँसु होला कि नहोला बितेका दिनको कथा लेख्छ आँसु मिलन बिछोडको व्याथा लेख्छ आँसु भोलि लेख्नलाई कसैकोमा आँसु होला कि नहोला शब्द - हरिभक्त कटुवाल स्वर - साधना सरगम/कुमार सानु संगीत - रनजीत गजमेर चलचित्र - दुई थोपा आँसु

जून त लाग्यो ताराले

जून त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले रंगी-बिरंगी फूलको थुँगा-थुँगा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर आँखाको नानीमा सजाउनेछन् साराले परी डुल्ने देशमा पुतलीको भेषमा मिठो मिठो धुनमा कोइलीको बोलीमा गाउनेछन् तिम्रो गीत परीहरू साराले तिम्रो सानो मुटुमा कति धेरै माया छ तिम्रो सुन्दर आँखामा ममताको छायाँ छ देख्नेछन् यो माया सबै जगत साराले शब्द - हरिभक्त कटुवाल स्वर - भारती घिमिरे संगीत - रनजीत गजमेर चलचित्र - दुई थोपा आँसु

यो जिन्दगी खै के जिन्दगी

यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लनु पनि जगजगी आँखा उर्घार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी पसलमा सोकेशभित्र सजाएरराखेको काँचको चुरा जस्तो यो जिन्दगी कुनै युवतीको हातमा चढ्दाचढ्दै प्याट्ट फुट्न सक्छ यो जिन्दगी! रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी! बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी! यो जिन्दगी खै के जिन्दगी!!

कतै आउला कि कुनै यस्तो दिन

हिजो एक मित्रकहाँ गएको थिएँ, एउटा पोको कोठाको कुनामा, दलिनमा झुण्डिरहेको थियो ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि मलाई लाग्यो- म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई, कतै आउला कि कुनै यस्तो दिन, जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन् !

साँची राखुँ जस्तो लाग्छ

साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने थाहै नपाई पराइको भइदिन्छ्यौ भन्ने सपनीमै पाए हुन्थ्यो नीदभरि तिमीलाई बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई नयाँ नयाँ रूप तिमी जति जति हेर्यो उति उति रसाउँछ हृदय यो मेरो हार जति मेरो पेवा जीत जति तिमीलाई बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई शब्द - हरिभक्त कटुवाल स्वर - कुमार सानु संगीत - रनजीत गजमेर चलचित्र - दुई थोपा आँसु