Wednesday, March 16, 2016

कवि कटुवालको घाउ

मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ...' जस्ता कहिल्यै नओइलाउने गीत र 'यो जिन्दगी खै के जिन्दगी' जस्ता कालजयी कविता लेख्ने स्रष्टा हरिभक्त कटुवालले यो संसार छाडेको ३५ वर्ष भयो। तर उनले लेखेका गीत सुन्दा र कविता पढ्दा अझै पनि हामीलाई ख्याउटे शरीर, तिखा आँखा अनि तिल र चामल मिसाए जस्तो कपाल भएको टाउको बोकी बेपरवाह तरिकाले काठमाडौंका सडकपेटीमा लर्खराउँदै हिँड्ने एउटा मानिसको झझल्को नआई छाड्दैन।
नेपालमा पञ्चायती व्यवस्था चलिरहेको थियो र त्यसप्रति
असन्तोष बढ्दै थियो। त्यही क्रममा २०३६ सालमा ठूलै
आन्दोलन चल्यो। आन्दोलनलाई ऊर्जा दिन साहित्यलाई पनि माध्यम बनाइएको थियो। र, त्यसै मेसोमा सडक कविता आन्दोलनको अभियान चल्यो। काठमाडौं उपत्यकाभित्र र बाहिरका सडक, चोक, गल्लीहरुमा कविहरु भेला भई उपस्थित जनमानसलाई परिवर्तनकामी कविता सुनाएर आन्दोलनलाई उचाइ दिने गरिन्थ्यो। यस्ता कार्यक्रमका मुख्य 'हिरो' हुन्थे कवि कटुवाल। शरीर ख्याउटे भए पनि कविता जोशिला हुनाले उनी त्यस्ता कार्यक्रममा सधैँ आकर्षणको केन्द्र रहन्थे। सरल शब्दमा सटिक प्रस्तुति उनको कविता र गीतको मुख्य सौन्दर्य हो।

उनी भारतको आसाममा नेपाली मूलका समुदायमा जन्मी हुर्केका व्यक्ति थिए। साहित्य सेवाको सिलसिला उनले केही वर्ष नेपालमा बिताए। उनको जीवन शैली पटक्कै आकर्षक नभए पनि लेखन शैली भने विछट्टै आकर्षक थियो। नारायणगोपाल स्वर सम्राट कहलिनुमा उनको जादूमयी स्वरको जति भूमिका थियो, उनको त्यो स्वरले पाएका मोहनी शब्दको पनि त्यति नै भूमिका छ। आफ्ना शब्दले नारायणगोपाललाई मात्र होइन, सिंगै नेपाली सङ्गीतलाई कालजयी बनाउने गीतकारहरु रत्नशमशेर थापा, नगेन्द्र थापा, गोपाल योञ्जन, चाँदनी शाह, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, नीर शाह आदिकै लहरमा हरिभक्त कटुवाल पनि पर्छन्। अहिलेको पुस्ताले उनलाई सशरीर नचिने पनि उनका गीतहरु नयाँ पुस्तामाझ अझै पनि लोकप्रिय छन्। 'मलाई नसोध कहाँ दुख्छ घाउ...', 'पोखिएर घामको झुल्का...', 'मेरो आँखालाई राखने...' आदि नारायणगोपालको स्वरमा रहेका उनका गीत आज पनि संसारभर छरिएका नेपालीबीच लोकप्रिय छन्।

उनको अर्को विशेषता थियो– भाषा प्रेम। बहुभाषी उनी नेपाली, आसामी, बंगाली, हिन्दी, अङ्ग्रेजी आदिका राम्रा ज्ञाता थिए। आफू जहाँ बस्यो त्यहाँको भाषालाई सम्मान गर्नु र सिक्नसमेत जाँगर चलाउनु उनको विशेषता थियो। उनी काठमाडौं बस्दा नेवारी भाषा पनि सिकिरहेका थिए। एकथरी मानिस अङ्ग्रेजी जानेपछि अरु कुनै भाषा जान्नुपर्ने आवश्यकता देख्दैनन् भने कतिपय आफ्नो भाषालाई मात्र उच्च अरु भाषालाई तुच्छ ठान्छन्। अनि कैयौंले भाषालाई राजनीतिक स्वार्थको दुनो सोझ्याउने माध्यम बनाउन पनि पछि परेका छैनन्। तर यी सबै प्रवृत्तिभन्दा पृथक कवि कटुवाल भने सबै भाषालाई माया गर्थे र सम्भव भएसम्म सिकेरै भाषाको सम्मान गर्थे।

उनको अर्को आकर्षण थियो– असाध्यै राम्रा अक्षर। कविता र गीतको भाव जस्तै सुन्दर अक्षर थिए उनका। देवनागरी र अङ्ग्रेजी दुवै अक्षर राम्रा लेख्ने उनले अक्षरको प्रसङ्ग चल्दा यस पंक्तिकारसँग (२०३५ तिर) एक पटक भनेका थिए– अक्षर राम्रो बनाउनु छ भने प्रेमपत्र लेख्नुपर्छ भाइ, तिम्रो उमेरमा त मैले प्रेमपत्र कति लेखेँ, लेखेँ।

उनी क्रिकेट खेलका असाध्यै सौखिन थिए। आफ्नो उमेरमा क्रिकेट खेले कि खेलेनन् थाहा भएन तर मदिराले लठ्ठ परेर खुट्टा टेक्नसमेत नसक्ने अवस्थामा पनि उनी भारततिर भएका क्रिकेट म्याचको अल इन्डिया रेडियोबाट आउने प्रत्यक्ष प्रसारण ध्यानपूवर्क सुनेर उत्तेजित हुन्थे। उनी काठमाडौंमा रहँदा अहिलेको जस्तो क्रिकेटको प्रत्यक्ष प्रसारण हेर्न नेपाल टेलिभिजन युग प्रारम्भ भएकै थिएन भने क्रिकेट खेल पनि आमजनचासो भन्दा बाहिरको विषय थियो तर उनको क्रिकेट मोह देख्दा हामी भने छक्क पर्थ्यौँ।

उनले जीवनमा धेरै घाम–पानी बेहोरे। सागसब्जी बेच्नेदेखि साहित्य सम्पादन गर्नेसम्मका काम उनले गरी भ्याए। उनी आसामसँग असन्तुष्ट भएर काठमाडौं आउँथे अनि काठमाडौंसँग असन्तुष्ट भएर फेरि आसाम पुग्थे। उनलाई नरुचाउनेहरुको पनि कमी थिएन, न त उनलाई रुचाउनेहरुको अभाव थियो। उनको जीवन शैली र लेखन शैलीबीच ठूलो अन्तरविरोध थियो। कतिपय मानिस उनको जीवन शैलीको मात्र चर्चा गरेर उनलाई उपेक्षा गर्थे, अनि कतिपय उनको लेखन शैलीलाई नै उच्च महत्व दिई उनलाई आदर गर्थे।

'बतासले झारेका फूलहरु...' उनको एउटा लोकप्रिय गीत हो जसलाई अम्बर गुरुङले स्वर र सङ्गीत दिएका छन्, यसमा एक पंक्ति भन्छ– 'चोखो फूल चाहिन्छ ढुङ्गाको देउतालाई, माया किन व्यर्थैमा मरिजाने मान्छेलाई...।' सायद उनको जीवन दर्शन यही नै थियो अर्थात् मरिजाने शरीरलाई उनले माया गरेनन्।

देश, काल, परिस्थितिले यस संसारको जुन कुनामा पुगे पनि वा जुन देशको नागरिकता लिए पनि नेपालीभाषीहरुको अन्तःस्करण नेपाली नै हुन्छ। यस अर्थमा नारायणगोपालको स्वर र अम्बर गुरुङको सङ्गीत जबसम्म नेपालीभाषी समुदायबीच बाँचिरहन्छ तबसम्म उनीहरुलाई शब्द दिने हरिभक्त कटुवाल पनि मर्ने छैनन्।
- See more at: http://nagariknews.com/opinion/story/45150.html#sthash.6LGyzfra.dpuf

No comments:

Post a Comment